कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते नहुने

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फेरि अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचित समितिले यही फागुन १३ गतेका लागि तोकेको जिल्ला अधिवेशन केन्द्रीय नेतृत्वले सार्न निर्देशन दिएको हो । तर, अर्को मितिको प्रस्ताव भने नेतृत्वले निर्वाचन समितिलाई दिएको छैन ।

‘फागुन १३ र १४ महेन्द्र नारायण निधिको जन्मजन्यती मनाइने भएकाले अधिवेशन गर्न नसकिने जानकारी नेतृत्वले गराएको छ’, निर्वाचन समितिका एक पदाधिकारीले भने, ‘पार्टी नेतृत्वले आग्रह गरेपछि अधिवेशन मिति फेरबदल हुने भयो ।’ ती पदाधिकारीकाअनुसार निर्वाचन समितिले बिहीबार नयाँ तालिका प्रकाशन गर्नेछ ।

यसअघि पुस २७ गतेका लागि तय भएको महाधिवेशन माग १५ का लागि सारिएको थियो । त्यसपछि मिति नतोकिएकोमा कार्यसम्पादन समितिको परामर्शमा निर्वाचन समितिले फागुन १३ गतेका लागि तोकेको थियो । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले फागुन २० देखि चैत २० सम्म ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान घोषणा गरेको छ ।

त्यसअघि जिल्ला अधिवेशन गर्नेगरी फरक-फरक जिल्लामा फरक मितिमा अधिवेशनको तयारीमा रहेको निर्वाचन समिति स्रोतले बताएको छ । गत माघ २८ गते बसेको निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निणर्य गरेको थियो । निर्वाचन समितिका अनुसार, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ ।

 

 
 
  
 

You may also like