आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौं अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्ने छ । आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली कांग्रेसको हिजो बैठक बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा-घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए ।

मंगलबारकै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता डा. प्रकाशशरण महतले आजको बैठकमा एमसीसी टेबल हुने बताएका थिए । संसद् बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यसमा पनि संसद् बैठकका कार्यसूचीलगायत विषयमा छलफल हुने जनाइएको ।

 
 
  
 

You may also like