विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

by समतल अनलाइन

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकै दिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ । विश्वमा पहिलोपटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १९३ जनामा कोरोना पुष्टि भइसकेको छ । अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ । भारतमा हालसम्म ४ करोड २४ लाख १० हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सको अनुसार ब्राजिलमा २ करोड ६७ लाख ७६ हजार ६२०, फ्रान्समा २ करोड १० लाख ३९ हजार ६३९, बेलायतमा १ करोड ७९ लाख ३२ हजार ८०३ जनालाई कोरोना संक्रमण भएको छ ।

कोरोनाले सबैभन्दा बढीको ज्यान अमेरिकामा लिएको छ । हालसम्म अमेरिकामा ९ लाख ३२ हजार ४४३ जनाको मृत्युको कारण कोरोना बनेको छ । कोरोनाका कारण ब्राजिलमा ६ लाख ३३ हजार ८९४, भारतमा ५ लाख ५ हजार ३०८, रुसमा ३ लाख ३६ हजार ७२१ र मेक्सिकोमा ३ लाख ९ हजार ८८४ जनाको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like