एमसीसीलाई संसदमा टेबुल गर्न सभामुखले रोक्न मिल्दैन : प्रदीप ज्ञवाली

by समतल अनलाइन

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंदमा छलफल हुनुपर्ने बताएका छन् ।

एमसीसी सम्झौताको विषयमा जनतालाई यथार्थ जानकारी दिन पनि त्यसलाई संसदमा टेबुल गरेर छलफल गर्नुपर्ने ज्ञवालीको भनाई छ । प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले भने, ‘एमसीसीलाई संसदमा पेस हुनबाट सभामुखले रोक्न मिल्दैन । यस विषयमा संसदमा छलफल हुनुपर्छ । यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय सार्वभौम संसद्को हो ।’

सदनमा एमसीसीले प्रवेश पाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाई थियो । नेता ज्ञवालीले एमसीसी सम्झौताका विषयमा सरकार र सत्ता गठबन्धनका केही नेताले गिजोल्ने काम गरिरहेको उनको आरोप थियो । ‘पाँच महिनासम्म समय मागेर अहिले अन्योल सिर्जना गर्नु अन्तर्राष्ट्रिय जगत्मा नेपालको विश्वसनीयता समेत सङ्कटमा पार्नु हो,’ ज्ञवालीले भने, ‘अमेरिकातर्फ फर्केर एउटा कुरा र नेपालतर्फ फर्केर अर्को कुरा गर्ने दोहोरो चरित्र देखियो ।’

एमसीसी सम्झौता गर्दा पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस-माओवादी संयुक्त सरकार रहेको स्मरण गराउँदै उनले अहिले एमसीसीलाई टुङ्गोमा पुर्याउने दायित्व पनि देउवा र प्रचण्डकै भएको बताए ।

 

 
 
  
 

You may also like