कांग्रेसले सभामुखलाई महाअभियोग लगाए एमालेले साथ दिन्छ : टोपहादुर रायमाझी

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोग प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सचिव रायमाझीले एमसीसीबारेमा सत्ता गठबन्धनले आफ्नो निणर्य लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए । उनले संसद्को काम कारबाहीलाई सञ्चालनमा ल्याउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने समेत बताए ।

सचिव रायमाझीले भने, ‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरु, महागठबन्धनले के गर्छ ? त्यो कुरा टुङ्गो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन । सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निणर्य गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लगाउनु पर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौं ।’

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोप समेत लगाए । उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आउँदो निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए ।

 

 
 
  
 

You may also like