कोरोना महामारीका बेला भोजमा सहभागी बेलायती प्रधानमन्त्रीले मागे माफी

by समतल अनलाइन

बेलायत । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् ।

प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी मागेको बीबीसीले जनाएको छ । लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको खबरमा उल्लेख छ ।

संसदमा जोनसनले भने, ‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन ।’ सम्बोधनका क्रममा जोनसनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको र यसले धेरै सुधार ल्याउने पनि बताएका छन् । तर विपक्षी दलले भने प्रधानमन्त्रीले भोजभतेर गरेको विषय लाजमर्दो भएको भन्दै राजीनामा माग गरेका छन् ।

लेबर पार्टीका नेता किर स्टार्मरले प्रधानमन्त्रीलाई लाज पचेको मान्छे भन्दै तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री टेरिजा मेले पनि नागरिकमा कोभिडको नियम लगाएर प्रधानमन्त्रीले भोज गर्दै हिँड्नु गलत भएको भन्दै आफैले बनाएको नियमबारे जोनसन जानकार थिए कि नजरअन्दाज गरेका हुन् भनेर प्रश्न गरेका छन् ।

 
 
  
 

You may also like