देव गुरुङको दावी : प्रचण्ड देशकै अभिभावक

by समतल अनलाइन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रुपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् ।

पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको उनले बताए । ‘जनयुद्धपूर्वदेखि जनयुद्धको १० वर्ष, शान्ति प्रक्रिया, सबै प्रक्रियामा नेतृत्व गर्दै आइरहेको तथा मुलुककै निम्ति अभिभावक र संरक्षकजस्तो नेतृत्व रहेको हुनाले लिडरशीपको सन्दर्भमा उहाँ (प्रचण्ड) कै नेतृत्व स्वभाविक विषय हो’, उनले भने ।

उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिए । उनले भने, ‘अन्य लिडरसीपहरूको टिम बनाउने सन्दर्भमा पनि सामूहिक अभिव्यक्तिको केन्द्रिकृत अभिव्यक्ति अध्यक्षबाट नै हुने भएकोले उहाँले नै टिम बनाउनु हुनेछ ।’

नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने जानकारी दिए । उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए ।

नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर)को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको नेता गुरुङले बताए । दुईबीच सहमति हुन नसके पार्टीका वरिष्ठ नेताहरूमध्ये तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने सहमतिमा जाने उनले जानकारी गराए ।

नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारे । नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गरे । उनले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गरे ।

 
 
  
 

You may also like