धान उत्पादन ८ दशमलव ७४ प्रतिशतले घट्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यस वर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षातले पुर्‍याएको क्षतिका कारण धान उत्पादनमा कमी आएको बताइएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै धानको उत्पादनमा कमी आएको जानकारी दिएको हो । मन्त्रालयले देशभरबाट संकलन गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन विगत ५ वर्षयताकै कम भएको पाइएको छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । यो उत्पादन अघिल्लो आबको तुुलनामा ८ दशमलव ७४ प्रतिशतले कम हो ।
यसअघि आव २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५, आव २०७५/७६ मा ५६ लाख १० हजार ११, आव २०७६/७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्यांक छ ।

गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफल करीब ४ हजार हेक्टरले वृद्धि भएको भए तापनि बेमौसमी वर्षात्का कारण उत्पादकत्वमा समेत ९ दशमलव शून्य ९ प्रतिशतले गिरावट आई प्रतिहेक्टर ३ दशमलव ४७ मेट्रिकटन कायम भएको छ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । आर्थिक अभियान दैनिकबाट

 
 
  
 

You may also like