व्यापार मेलामा कलाकारसंग रमाउंदै दर्शक

by समतल अनलाइन

बुटवल। बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा साँस्कृतिक कार्यक्रमको रौनक शुरु भएको छ । बिहीबार उद्घाटन भएको मेलामा शुक्रबारदेखि विविध साँस्कृतिक कार्यक्रम शुरु भएका छन् । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालित मेलामा लोकदोहोरी तथा आधुनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति शुरु भएको हो ।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सवहरु हुन नसकेको अवस्थामा आयोजित मेलामा दर्शकहरु आफूलाई मनपर्ने कलाकारको प्रस्तुतिमा रमाउन पाएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न संगीत पारखी दर्शकको मेलामा राम्रो उपस्थिति हुन थालेको सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । शुक्रबार लोकदोहोरी गायक विष्णु खत्री, सपना गाहा, श्रीनिवास थारुले गीतमार्फत र सविता भुसालले नृत्यमार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका छन् ।

यस्तै एकलाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिताका प्रतियोगीको प्रस्तुति पनि रहेको थियो । शनिबार चर्चित लोकदोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्कालगायतका कलाकारहरुको प्रस्तुति रहने प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । मेलामा किनमेल र नयां उत्पादन अवलोकन, बाल उद्यानमा रमाउन पनि अवलोकनकर्ताको भीड लाग्न थालेको उनले बताए ।

निःशुल्क दन्त परामर्श र रक्तदान
मेलामा शुक्रबारदेखि निःशुल्क दन्त परामर्श सेवा शुरु भएको छ । उद्योग व्यापार संघ बुटवलका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले उक्त सेवाको उद्घाटन गरेका छन् । मेला अवधिभर दर्शकलाई दांतसम्बन्धी समस्याबारे दन्त चिकित्सक डा. काजोल श्रेष्ठ, डा. मनिला गुरुङलगायतले निःशुल्क चेकजांच गरी परामर्श दिने अमृत भुसालले बताए । यस्तै मेलामा हरेक दिन रक्तदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।

 
 
  
 

You may also like