सर्वोच्चका न्यायाधीश विभाजित, पाँच जना असन्तुष्ट समूहको छलफलमा सहभागी नहुने

by समतल अनलाइन

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिगकार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच विभाजन आएको छ । १९ जना न्यायाधीशहरूमध्ये पाँच जनाले बाँकी न्यायाधीशहरूसँगको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।

न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल सोमबार असन्तुष्ट न्यायाधीशहरूले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग गरेको छलफलमा सहभागी भएनन् ।

उनीहरूले अबदेखि असन्तुष्ट न्यायाधीशहरूबीच हुने छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । न्यायाधीश केसीले आफूहरू सोमबार बारका पदाधिकारीहरूसँगको छलफलमा सहभागी नभएको र अब फूलकोर्ट बाहेकका बैठकमा सहभागी नहुने बताए । सर्वोच्च अदालतका सबै न्यायाधीश संलग्न बैठक (फूलकोर्ट) बाहेकका समूहगत छलफलमा सहभागी नहुने निष्कर्षमा पुगेको न्याायधीश केसीले बताए ।

‘लामा लामा छलफलपछि पनि कुनै निष्कर्ष निस्किएन । प्रधानन्यायाधीशसँगको विवाद लम्बिँदै जाने र त्यसले कुनै निष्कर्ष नदिने भएपछि हामी अब ती छलफलमा सहभागी नहुने निर्णय गर्‍यौं,’ न्यायाधीश केसीले भने ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरूले अहिले जबराले तोकेका मुद्दा सुनुवाइ गर्न अस्वीकार गर्दै आएका छन् । बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाइ गर्दै आएका न्यायाधीशहरूले सोमबार नेपाल बारका पदाधिकारीसँग छलफल गरेका थिए ।

असन्तुष्ट न्यायाधीशहरूको साथ छाडेका पाँच जना न्यायाधीशहरूले मंगलबारदेखि नियमित मुद्दाको सुनुवाइ गर्ने वा गोलाप्रथा लागू नभएसम्म बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्ने भन्नेबारे भने निर्णय गरिसकेका छैनन् । ‘हामी भोलि (मंगलबार) बिहान छलफल गरेर त्यसबारे निष्कर्षमा पुग्छौं,’ न्यायाधीश केसीले भने ।

 
 
  
 

You may also like