मुस्ताङ हिम पहिरो : १२० चौरी बेपत्ता, भागदौडमा ११ घाइते, जोखिम कायमै

by समतल अनलाइन

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिम पहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शीरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् ।

हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । ‘भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक–विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनु भएको छ’, उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५-६५ वटा याक चौंरीमध्ये १०-१२ वटा मात्र भेटिएका छन् ।’

घाइतेहरू अनु देसार, अनुसा खत्री, संगम बरुवाल, मिलन पुन, अमृता रोकाया मगर, सुजिना केसी, वीरेन्द्र लामिछाने, अनुष्का विक, स्नेहा किसान, कोरिसा विक र सुशीला थापाको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता इन्स्पेक्टर प्रताप पौडेलले बताए ।

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०-१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । हिम पहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैंसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ ।

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गर्नुभएको थियो । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।

हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए । हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ । मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

 
 
  
 

You may also like