पौडेलको प्रश्न : ज्ञानेन्द्रले धम्क्याउन थाले, नेताहरु सुनेर बस्ने हो ?

by समतल अनलाइन

धनगढी। सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्र शाहले धम्क्याउन थालेको बताएका छन् । कैलालीको धनगढीमा आज (शनिबार) आयोजित एक कार्यक्रममा पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको बताए ।

‘आज राजाले धम्क्याउन थालिसके, ज्ञानेन्द्रले उपदेश दिन थाले,’ आक्रोशित हुँदै उनले भने, ‘ज्ञानेन्द्रले उपदेश दिने हो आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा ? यो सुनेर बस्ने हो आजका नेपालका नेताहरुले ?’

अर्को फरक प्रसंगमा समयमै महाधिवेशन गर्न नसक्दा नेपाली कांग्रेस असंवैधानिक बनेको बताए । सभापति शेरबहादुर देउवाले समयमै काम नगरेकाले यस्तो अवस्था आएको उनको आरोप छ । कांग्रेसमा आन्तरिक लोकतन्त्र विकासको खाँचो भएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेको बताएका छन् । पौडेलले पार्टी विधान अनुसार केन्द्रीय समितिको कार्यकाल ४ वर्षको हुने र असाधारण अवस्थामा एक वर्ष थप गर्न पाइने समय पनि पूरा भइसकेको बताए ।

‘पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा एक वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं’ उनले भने । पार्टी विधान मात्र नभई देशको संविधान अनुसार पनि कांग्रेसले वैधानिकता गुमाएको पौडेलले बताए । संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र नयाँ नेतृत्व चयन नगरे अवैध हुने व्यवस्था गरेको पौडेलले बताए । कांग्रेस वैधानिकताको सबै बाटो सकिएर अहिले निर्वाचन आयोगको निगाहामा बाँचेको उनले बताए ।

 

 
 
  
 

You may also like