जनकपुर घटना आपत्तिजनक : कांग्रेस

by समतल अनलाइन

काठमाडौं। खानेपानी आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको घटनाप्रति सत्तारुढ नेपाली कांग्रेसले निन्दा गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आज (शनिबार) विज्ञप्ति जारी गर्दै कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्ने सरकारले अघि बढाएको प्रक्रियालाई स्वागत गरेका छन् । उनले घटना आपत्तिजनक भएको भन्दै निन्दा समेत व्यक्त गरेका छन् ।

‘राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य हो । तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन,’ शर्माले भनेका छन्, ‘शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने स्मरण पनि हामी गराउँदछौं ।’

उनले जनकपुर घटनाले नेपाली इन्जिनियरहरु, कर्मचारीहरु र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको बताएका छन् । ‘सहकर्मी उपर गम्भीर दुर्व्यवहार हुँदा इन्जिनियरहरु आक्रोशित र आन्दोलित हुनु स्वाभाविक छ । तर, हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न सकिन्नँ,’ शर्माले भनेका छन् ।

 

 
 
  
 

You may also like