बाढी–पहिरो : १६ जनाको मृत्यु, २५ बेपत्ता, दर्जनौं सडक र पुल भत्किए

by समतल अनलाइन

काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षासँगै बाढी पहिरोमा परी १६ जनाको ज्यान गएको छ । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक-एक जनाको ज्यान गएको हो । बझाङमा २४ र डोटीमा १ गरी २५ जना बेपत्ता छन् ।

नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । कर्णाली नदीको तटबन्ध भत्किएर बस्ती पस्दा बर्दियामा मात्रै हजारभन्दा बढी घर डुबेका छन्  । पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन् । बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन् ।

वर्षाले जनजीवन पनि प्रभावित भएको छ । बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन् । बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ । बाढी पहिरोबाट सयौं परिवार विस्थापित भएका छन् ।

अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा घर भत्किँदा आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका–४, सयगडामा मंगलबार दिउँसो दुई घर भत्किँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सयगडामा ४२ वर्षीय शेरबहादुर विकको घर भत्किँदा उनी, उनका १८ वर्षका छोरा मोहन, १२ वर्षकी छोरी पवित्राको मृत्यु भएको छ । मामाघर आएका १६ वर्षका रविन विकको पनि घरले च्याँपेर मृत्यु भएको छ । घटनाबारे पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

यसैगरी, सोही ठाउँमा पहिरोले घर पुर्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ । उनकी पत्नी घाइते भएकी छन् । त्यस्तै, मंगलबार दिउँसो पहिरोसँगै आएको ढुंगाले लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा दिपायलस्थित सुजंग अस्पतालमा मृत्यु भएको हो ।

 

 
 
  
 

You may also like