संखुवासभा सामुहिक हत्याकाण्ड : अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त

by समतल अनलाइन

संखुवासभा । संखुवासभाको मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए । उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए ।

उनले बडाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गुमाउनु परेकोमा बिलौना गर्ने गरेका थिए । तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए । सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो ।

तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो । उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गोप्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ । उक्त कपडासहित घटनामा हत्यामा प्रयोग गरेका सामान प्रहरीले बरामद गरेको छ । संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज (आइतबार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् ।

लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । उनी बौदमानका जेठो दाजुका नाति हुन् । उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ ।

तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन् । तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको बताएको जनाइएको छ ।

रणबहादुरका अनुसार छोरा (लोकबहादुर)ले ‘हजुरआमा (पार्वता) बिरामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए । त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चिच्याए ।

छोराले तेजबहादुर सडकको भित्तामा मृत अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए । त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको शव देखेको बताएको जनाइएको छ । उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृत भेटिएको खबर गाउँलेलाई गरेका थिए ।

अरूको शव देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मुच्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ । उनमा बेला–बेला बेहोस भइरहने समस्या थियो । प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो । उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए ।

बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ । तेजबहादुरको शव सडकछेउ घोप्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सीमा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृत भेटिएका थिए । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितका अधिकारी अनुसन्धानमा खटिएका थिए ।

यत्रो नरसंहार एक्लै ?
एकै परिवारका ६ जनाको हत्या सोमबार बिहान एकै समयमा भयो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ गरेको छ । तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ । घटनामा कुनै धारिलो तयार प्रयोगसमेत भएको छैन । मृतकको टाउकोमा सामान्य चोट देखिन्छ । ६ जनाको शव चार स्थानमा करिब सय मिटर आसपास भेटिएको थियो ।

घटना बिहान भए पनि कसैले देखेको र कराएको आवाज समेत नसुनेको बयान स्थानीयले दिएका थिए । छरछिमेक पनि काममा निस्किने समयमा एक्लै लोकबहादुरले कसरी गरे ६ जनाको हत्या ? एक्लै छोटो समयमा यस्तो घटना गर्न नसक्ने अनुसन्धानले देखाउँछ । अन्य व्यक्ति पनि संलग्न भएको आशंकामा अनुसन्धानलाई जारी राखिने प्रहरीले जनाएको छ ।

के गर्थे लोकबहादुर ?
लोकबहादुर दुई पटक वैदेशिक रोजगारीमा गएका थिए । फर्किएर खेती किसानीमा लागे । कक्षा ८ सम्म पढेका उनी ६ वर्षअघि मलेसिया गए । त्यहाँबाट १० महिनामा घर फर्केर डेढ वर्षपछि कतारतिर उडे । त्यहाँबाट पनि नौ महिना नपुग्दै फर्किए । आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like