नेपालको पार्टी दर्ता हुनासाथ सरकारले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ

by समतल अनलाइन

काठमाडौ। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले छिट्टै सरकारले पूर्णता पाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज (आइतबार) बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा नेता श्रेष्ठले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भए लगत्तै सरकारले पूर्णता पाउने बताए ।

‘नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा गइसकेको सन्दर्भमा उहाँहरूको दर्ताको निर्णय अन्तिम भइसकेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिइने छ । ढिलो त भइसक्यो, अब एक–दुई दिनको कुरा हो’, उनले भने ।

बैठकले नेपालका कम्युनिस्ट पार्टीहरूको एकता लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘कम्युनिस्ट आन्दोलनलाई आजको युगको आवश्यकता अनुसार समाजवाद निर्माण गर्ने खालको शक्ति निर्माणलाई केन्द्रविन्दुमा राख्ने र त्यसका लागि क्रान्तिकारी धाराका सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउन वार्ता तथा पहल गर्ने निर्णय गरेका छौं’, उनले भने ।

 

 
 
  
 

You may also like