तालिबानबारे बोले पुटिन

by समतल अनलाइन

 काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानमा अन्य देशले आफ्नो इच्छा लाद्न नहुने बताएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति पुटिनले शुक्रबार जर्मन चान्सलर एङ्गेला मर्केलसँग पछि मस्कोमा मिडियासँग कुराकानी गरिरहेका थिए । त्यस क्रममा राष्ट्रपति पुटिनले तालिबानले आफ्नो प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

चरमपन्थीहरूलाई अफगानिस्तानबाट निकाल्नु र अन्य देशमा फैलिनबाट रोक्नु महत्वपूर्ण कुरा भएको उनले बताए । उनले भने, ‘बाहिरबाट विदेशी मूल्य मान्यता थोपर्ने र विदेशी मोडलको लोकतन्त्र लाद्ने गैरजिम्मेवार नीति रोक्न आवश्यक छ । हामीले अफगानिस्तानलाई र त्यहाँका नागरिकलाई राम्रोसँग चिनेका छौं र यो देशले कसरी काम गर्छ भन्ने कुरा जानेका छौं । उसको परम्पराविपरीत त्यहाँ राजनीतिक र सामाजिक व्यवस्था थोपर्नु कति हानिकारक हुन्छ भन्ने कुरा पनि हामीले देखिसकेका छौं ।’

विगतमा अफगानिस्तानमा कुनै पनि राजनीतिक र सामाजिक प्रयोग सफल नभएको पनि उनले स्मरण गराए । उनले भने, ‘तालिबानले युद्ध अन्त्य भएको घोषणा गरिसकेको छ, नागरिक र कूटनीतिज्ञहरूको सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएको छ र हामीलाई विश्वास छ, यसले यी सबै कुरा कार्यान्वयन गर्नेछ ।’ एजेन्सी

 
 
  
 

You may also like