देशलाई अफगानिस्तान बन्न नदिन एमसीसी अस्वीकार गरौं : केसी

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘अमेरिकी साम्राज्यवाद’ प्रवेश गरेको देश कसरी तहसनहस हुन्छ भन्ने कुरा अफगानिस्तानबाट सिक्नुपर्ने बताएका छन् ।

अमेरिका आफ्नो रणनीतिअनुसार एमसीसीमार्फत नेपालमा प्रवेश गर्न चाहेको उल्लेख गर्दै केसीले नेपालमा अमेरिकी चलखेल हुनु भनेको देश अफगानिस्तान जस्तै हुने बताए । बिहीबार एक वक्तव्य प्रकाशित गरी केसीले भनेका छन्, ‘नेपालमा पनि साम्राज्यवादी र बाह्य शक्तिहरूको ठुलो चलखेल हुने गरेको छ । अमेरिकाले आफ्नो साम्राज्यवादी रणनीति एमसीसीलाई नेपालमा लाद्न खोजेको छ ।’

उनले इण्डोप्यासिफिक रणनीतिअन्तर्गत अमेरिकाले नेपाललाई चीनका विरुद्धको मोर्चामा सामेल गर्न वा नेपाललाई युद्धको अखडा बनाउने रणनीतिअन्तर्गत काम गरेको आरोप लगाएका छन् । केसीले अफगानिस्तानको घटनाको प्रभाव विश्व, दक्षिण एसिया र नेपालमा समेत पर्न सक्छ भन्दै त्यो घटनाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

यस्तै उनले केही समय यता जातीय एकता, सामाजिक र धार्मिक सद्भाव, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता जस्ता कुरामा आँच पुग्ने गतिविधिहरू भइरहेको भन्दै जातीय र धार्मिक विद्वेष, साम्प्रदायिकता, क्षेत्रीयतावाद, राष्ट्रिय विखण्डनका सोचलाई आतङ्कवादको झिल्कोले अकल्पनीय विध्वंसतिर लैजाने चेतावनीसमेत दिएका छन् ।

 
 
  
 

You may also like