अफगानिस्तानबाट २८८ जना फर्किए , २९६ जनाले नेपाल आउन दर्ता गरे

by समतल अनलाइन

काठमाडौं। अफगानिस्तानबाट उद्धार गरेर हालसम्म २८८ जनालाई स्वदेश फर्काएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा आज २ गते विहान ६१ जना र अपरान्ह २५ जना समेत गरी हालसम्म कूल २८८ जना नेपाली नागरिकहरू काठमाडौं आएका छन् ।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गरेका छन् । दर्ता भएकाहरू मध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसकेका छन् ।

 
 
  
 

You may also like