काबुल । तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि आइतबार देशै छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ गानीले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई सम्बोधन गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘राजधानी काबुल छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ ।’ यदि आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं नागरिकको जिन्दगी खतरामा पर्ने उनले उल्लेख गरेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘आइतबार म निकै कठिन अवस्थामा परेको थिएँ ।
सशस्त्र तालिबानका लडाकु राष्ट्रपति भवनमा छिर्न चाहन्थे, उनीहरूको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक जसको सुरक्षाका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पिएको छ, त्यसलाई छाडौं ।’ तर आफू नभागेको भए युद्धमा लाखौं नागरिक मरेको र काबुलमा ठूलो आतंक मच्चिएको हेर्नुपर्ने स्थिति आउने उनले बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘तरबार र बन्दुकको बलबाट तालिबानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको ज्यान उनीहरूको जिम्मामा छ ।’ तर उनले आफू कहाँ छु भन्ने कुरा फेसबुकमा लेखेका छैनन् ।
			        

												
														

