कांग्रेसले क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुङ्ग्याउने

काठमाडौं। नेपाली कांग्रेस सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको छानबिन समितिले दोस्रोपल्ट प्रतिवेदन बुझाएको छ । गत १२ गते पहिलो प्रतिवेदन बुझाएको समितिलाई बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले २४ घण्टाको समय दिएर त्रुटि सच्याउन र बाँकी विषय मिलाउन भन्दै प्रतिवेदन फिर्ता गरेका थियो ।

समितिले विवाद भएका केही स्थानमा पुनः सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुङ्गिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको नेता प्रदीप पौडेलले जानकारी दिएका छन् । उनले अब ९६ प्रतिशत क्रियाशिल सदस्यता टुङ्गिएको दावी समेत गरे ।

‘हामीले थप २४ घण्टा प्राप्त गरेका थियौं । योबीचमा हामीले त्रुटिहरू सच्याएका छौं, उजुरी र निवेदनहरूमा सर्वसम्मतिबाट निर्णय गरेका छौं’, पौडेलले भने, ‘सप्तरी, बारा धनुषा निर्वाचन क्षेत्र नम्बर–४, सर्लाही क्षेत्र नम्बर–२, सिन्धुपाल्चोक र रसुवामा समस्या केन्द्रीय तहबाट हुन्छ, हामीले सकेनौं ।’

उनले छानबिन समितिमा आएका विवादका आधारमा सय वटा वडाका नयाँ क्रियाशील सदस्यता स्थगन गरेको जानकारी दिएका छन् । उनले ६,७४३ वडामध्ये ४ प्रतिशत वडा मात्र स्थगन भएको बताए । १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा समस्या आएको भन्दै अहिले छानबिन समितिका कारण महाधिवेशन प्रभावित हुने अवस्था नरहेको उनले बताए ।

‘त्यसमा पनि हिजोभन्दा आज १० बटा वडा तहको सच्यायौँ अनि प्रतिवेदन बुझायौं’, पौडेलले भने, ‘यसअघि हामीले सर्वसम्मतिमै निर्णय गरेका थियौं, हामीलाई प्राप्त जिम्मेवारी पनि सर्वसम्मतिमै गर्ने थियो । तर, नोट अफ डिसेन्ट बाँकी नै छ ।’

पौडेलले कल्याण गुरुङले आफैले गरेका निर्णयमा पनि ‘नोट अफ डिसेन्ट’ लेखेको भन्दै त्यसमा रोक्न नसकिएको बताए । ‘यत्रो वातावरण बनिसकेपछि अधिवेशन रोक्नु हुन्न’, पौडेलले भने, ‘साउनको अन्तिम साता वडा अधिवेशन थालेर भदौ १६ देखि १९ महाधिवेशन गर्नुपर्छ ।’

यता कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद ५ दिनभित्र सहमति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा–४, सर्लाही–२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद ५ दिनभित्र समाधान गर्ने निर्णय गरेको हो ।

 

 
 
  
 

You may also like