काठमाडौं। केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औंल्याएको छ ।
एक साता अघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन् । बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ ।
बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए । लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ । ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने ।
लक्षणविहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ । मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणम दर ठूलो संख्या रहेको अधिकारीले बताए ।
उपत्यकामा संक्रमण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले बताए । बाँस्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षणसहितका बिरामी अस्पताल पुगेका छन् ।
उनीहरूमध्येमा ७ देखि १० जना दैनिक भर्ना हुने गरेका छन् भने अस्पतालको २४ बेड क्षमताको आइसियुमा २१ जना भर्ना भएका छन् । डा. बाँस्तोलाका अनुसार संक्रमित हुनेहरूमा खोप केन्द्रमा खोप लगाउन लाइन बसेकाहरू मध्येबाट धेरै छन् । निषेधाज्ञासँगै नागरिकले जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्दै जानुले संक्रमण पुन उकालो लागेको डा. बाँस्तोलाको तर्क छ । राजधानी दैनिकबाट