बुटवल। लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरेको छन् ।
प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मंगलबार सार्वजनिक गरेको बजेटमा चालुतर्फ २४ अर्ब ९३ करोड ७३ रहेको छ भने पुँजीगत २१ अव १७ करोड रहेको छ । बजेटमा कोरोना महामारी तथा नियन्त्रणका लागि आवश्यक बजेट छुट्याइएको छ भने कृषि र रोजगारीलाई पनि प्राथमिकतामा राखिएको छ ।
बजेटमा लुम्बिनी प्रदेश सरकारले ‘कोभिड फर्स्ट’ नीति लिने भएको छ। मन्त्री चौधरीले कोरोना संक्रमितहरुको निःशुल्क उपचार हुने र कोरोनाका बिरामीलाई प्राथमिकता दिन कोभिड फर्स्ट नीति लिइने बताएका हुन् ।
मन्त्री चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।
यस्तै उनले डीपीआर सकिइसकेको अस्पतालको आगामी आर्थिक वर्षमा निर्माणको सकिसक्ने बताए । राप्ती अस्पताल दाङको डीपीआरको कामका लागि पनि बजेट विनियोजन गरेको उनले बताए। यस्तै जिल्लास्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार र स्तरीकरण गर्ने उनले बताएका छन् ।
कोभिड संक्रमितको उपचारका लागि ४ निजी मेडिकल कलेजसँग समन्वय गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ । भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग समन्वय गरी जटिल प्रकृतिका बिरामीको पनि उपचार गरिने उनले उल्लेख गरे । आगामी आर्थिक वर्षमा सरकारले कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।
प्रदेश सरकारले प्रत्येक वडामा कृषि प्राविधिक पुर्याउने कृषि प्राविधिक सेवामा किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड बजेट छुट्याएको छ । यस्तै एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । जसका लागि ३५ करोड विनियोजना गरिएको छ ।
९२० हेक्टरमा रहेको करार खेती कार्यक्रमलाई १२ सय हेक्टरमा पु–याउने गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिइएको छ । ब्याजमा अनुदान र सहकारी क्षेत्रको विकासका लागि बजेट व्यवस्था गरिएको छ । हरेक जिल्लामा माटो परीक्षणका लागि मिनी ल्याब बनाइने पनि बजेटमा उल्लेख छ । यस्तै कृषिलाई पेशामा थप सम्मानजनक बनाउनको लागि किसानलाई पुरस्कार दिने कार्यक्रम पनि राखिएको छ ।
पूर्णपाठ