ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण, भन्छन्- ‘सरकार पक्षले योजनाबद्ध रूपमा गरेको हो’

काठमाडौँ । सामाजिक अभियन्ताका रुपमा चर्चित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । गएराति सुर्खेतमा उनको समूहमाथि आक्रमण भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर– १३ स्थित करेखोलामा शुक्रबार राति ११ बजेतिर शाहीको समूहमाथि स्थानीयहरुको समूहले आक्रमण गरेको हो । प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

आक्रमणपछि उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत शाहीले सार्वननिक गरेका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको लेखेका छन् । ‘आफ्नो ज्यानको नै माया मारी कोभिडबाट लाखौँ नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्यान बचाउन सकिएन, सतिले सरापेको देश हो भन्थे हो रहेछ,’ शाहीले लेखेका छन्, ‘अब त यो देशमा नै बस्न मन लागेन ।’

सुर्खेत प्रहरीले शाहीको समूह र स्थानीयबीच झडप भएर घटना हुन पुगेको बताएको छ । तर शाहीले भने लाइभमा बोल्दै आफूहरुमाथि सरकार पक्षबाट योजनाबद्ध रुपमा आक्रमण भएको बताएका छन् । उनले दोहोरो झडप भएको भन्ने प्रहरीको कुरालाई खण्डन गरेका छन् ।

फेसबुकमा राखिएको रातिको भिडियोमा शाहीले रुँदै आफ्ना एक घाइतेलाई अँगालो हालेकाे र घाइतेकाे टाउकाेबाट रगत बगिरहेकाे देखिएको छ । साथमा एक युवतीले घाइते युवकलाइ पट्टि लगाइरहेकाे दृश्य उक्त भिडियाेमा देखिन्छ ।

निषेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाही र उनको टोली विभिन्न जिल्लामा गइरहेको छ । सोही क्रममा सुर्खेतमा उक्त घटना भएको हो ।

 
 
  
 

You may also like