नेपाल भित्रिने मनसुन प्रणाली भारतको केरला आइपुग्यो, अब कस्तो हुनेछ मौसम ?

काठमाडौं। नेपाल भित्रिने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको मौसमविदले जानकारी दिएका छन् । नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । उक्त प्रणाली एक हप्ताभित्र नेपाल आइपुग्ने सम्भावना रहेको उनले जानकारी दिएकी छिन् ।

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद् मानन्धरले बताइन् । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण आज (शुक्रबार) अहिले वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश–१ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

यस्तै आज बिहान ६ बजे न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो २९–३१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । ‘काठमाडौंमा आज आंशिक बदली हुनेछ । घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने छ । तर, वर्षाको सम्भावना भने कमै छ’, उनले भनिन् ।

 
 
  
 

You may also like