काठमाडौं। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ । कोभिड–१९ का कारण गम्भीर बनेका थापाको उपचारका क्रममा निधन भएको हो ।
थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । गम्भीर अवस्थामा रहेका थापालाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार आउन नसकेपछि मेडिसिटीमा इसिएमओ प्रविधिबाट उपचार गरिएको थियो ।
तर उपचारकै क्रममा उनको आज (मंगलबार) दिउसो निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको छ । थापा कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए । ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरे पनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको थियो ।
४४ वर्षीय थापाको ४ बजेर २५ मिनेट जाँदा निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् । ‘विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वलबहादुर थापा हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे) हामीबीच रहनु भएन,’ पाण्डेले भने ।