यो वर्षको मनसुन खतरायुक्त हुन सक्छ, बेलैमा तयारी शुरु गरौं : डा. पोखरेल

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुन सक्ने चेतावनी दिएको छ । आज (सोमवार) प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग–व्याधीले धेरैलाई असर गर्न सक्ने जानकारी गराएका हुन् ।

उनले दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएको बताएका छन् । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्को घटना बढ्न सक्ने बताए ।
उनले भने, ‘पोहोरभन्दा यसपालि झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नु पर्‍यो । मौसम आउटलुकमा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएको छ, यही कारण यो वर्ष झन् गाह्रो छ । बाढी, पहिरोको घटना र अन्य रोग–व्याधीका घटना पनि बढ्ने देखेका छौं ।’

डा. पोखरेलले बाढी, पहिरो, रोग–व्याधि, सर्पदंश लगायतले एक सय २० दिनसम्म पिरोल्ने भएकाले विपदबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्ती छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । उनले थपे, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्ती छन् भने सुरक्षित हुन अविलम्ब उपाय शुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । तयारी शुरु गरौं ।’

उनले विपदबाट बच्न र जानकारी प्राप्त गर्नका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफूहरूले प्रेसित गर्ने सन्देश निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरेका छन् ।

 

 
 
  
 

You may also like