निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तयार पारिने

by समतल अनलाइन
Shares

काठमाडौं। सरकारले दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन तयार पारी निर्माण, लगानीको ढाँचा निर्धारण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा विमानस्थलका लागि पूर्वाधार विकास एवम् सञ्चालनका लागि अन्तरराष्ट्रिय लगानीकर्ता छनोट गर्ने विषयलाई समावेश गरिएको छ ।

यस्तै आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण, साइट क्लियरेन्सलगायत विमानस्थल निर्माणको पूर्व तयारीका कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आन्तरिक विमानस्थल विस्तार, स्तरोन्नति र आधुनिकीकरणलाई निरन्तरता दिँदै इलामको सुकिलुम्बा, गुल्मीको सिमीचौर र डोल्पाको मसिनचौरमा परीक्षण उडान गरिने छ । चन्द्रगढी, राजविराज, तुम्लिङ्गटार, जनकपुर, धनगढी, अर्घाखाँची, स्वर्गद्वारी, पाटन, दार्चुलालगायतका विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने सरकारको लक्ष्य छ ।

त्यस्तै, सुर्खेत र भरतपुर विमानस्थलको विस्तार एवम् स्तरोन्नति तथा नेपालगञ्ज र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण शुरु गरिने छ । वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी दाङ्गको नारायणपुर विमानस्थल निर्माण शुरु गर्ने सरकारको योजना छ ।

ओखलढुङ्गाको खिजी चण्डेश्वरी विमानस्थल सञ्चालनमा ल्याउने तथा ताप्लेजुङ्ग सुकेटारको धावनमार्ग विस्तार सम्पन्न गर्ने तथा तेह्रथुमको चुहानडाँडा विमानस्थलको निर्माण तीव्र पार्ने कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

आकस्मिक स्वास्थ्य सेवा, विपद् व्यवस्थापनलगायत अत्यावश्यक कार्यका लागि आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा हेलिप्याड निर्माण सम्पन्न हुने लक्ष्य निर्धारण गरिएको छ । आगामी आवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ रु २७ अर्ब ४७ करोड विनियोजन गरिएको छ ।

 

You may also like

This will close in 0 seconds