काठमाडौं। नेकपा एमालेमा कारबाहीमा परेका नेता झलनाथ खनालले प्रधानमन्त्रीले केपी ओली तानाशाही दिशामा अघि बढेको बताएका छन् ।
आज (शनिबार) गणतन्त्र दिवसका दिन शुभकामना सन्देश दिंदै उनले पार्टीलाई दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले लेखेका छन्, ‘पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्ने गरी २०७७ पुस ५ र २०७८ जेष्ठ ८ गते प्रतिनिधिसभा विघटन गरी संवैधानिक कू गरी मुलुकलाई प्रतिगमनमा धकेलेका छन् । जसले गर्दा इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन् ।’
उनले आक्रोश पोखेका छन्, ‘त्यति मात्र होइन हामी जस्ता हजारौं लाखौं कार्यकर्ताको बलिदानीबाट बनेको पार्टीलाई एकातिर दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेका छन् । अर्कातर्फ निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेका छन् । यस क्रियाकलापबाट उनी पार्टीको संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भासतर्फ लैजान उद्धत छन् भन्ने कुरा प्रष्ट हुन्छ ।’
गणतन्त्र दिवसमा नेता खनालको सन्देश
आज २०७८ जेष्ठ १५ गते, सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ऐतिहासिक दिन हो । यस ऐतिहासिक सुखद अवसरको दिनमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
२०६२–०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौं देखिको सामन्ती, निरंकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनक्रान्तिकै बलबाट हामीले समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान र सामाजिक न्यायका उपलब्धिहरु हासिल गरेका छौं । जनक्रान्तिकै म्यान्डेट बमोजिम हामीले संविधान सभाको निर्वाचन गर्यौ । संविधान निर्माण गरेपश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहको गठन गर्यौ । यी हामीले हासिल गरेका महत्वपूर्ण उपलब्धीहरु हुन् ।
तर, बिडम्बना यी उपलब्धीहरूलाई संस्थागत गर्दै अगाडि बढ्ने क्रममा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्ने गरी २०७७ पुस ५ र २०७८ जेष्ठ ८ गते प्रतिनिधिसभा विघटन गरी संवैधानिक कु गरी मुलुकलाई प्रतिगमनमा धकेलेका छन् । जसले गर्दा इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन् ।
त्यति मात्र होइन हामी जस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई एकातिर दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेका छन्, भने अर्कातर्फ निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंत्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेका छन् । यस क्रियाकलापबाट उनी पार्टीको संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भास तर्फ लैजान उद्धत छन् भन्ने कुरा प्रष्ट हुन्छ ।
त्यसैले पार्टी भित्र उत्पन्न दक्षिणपन्थी अवसरवादी सोच, चिन्तन र गतिविधिका विरुद्ध दृढता पुर्वक बैचारिक संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा निर्माण गर्न, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्व बनाउन, प्रतिगमन बिरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरू एक भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, कोरोना महामारीको नियन्त्रणका लागि एकताबद्द भएर परिचालित हुन र समाजवादको बाटोमा दृढतापूर्बक अगाडि बढ्न म सबैमा हार्दिक आह्वान गर्दछु ।