‘यास’ चक्रवातको प्रभाव : चार प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो पानी पर्ने

काठमाडौं । बंगालको खाडीबाट विकसित ‘यास’ चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।

लगातार परेको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको तह बढेको र बाढी समेत आएको छ । धेरै पानी परेका स्थानमा पहिरो र डुबानको खतरा बढेको छ ।

अझै सोमबारसम्म वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात कमजोर भई न्यून चापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण आइतबारसम्म अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले (शनिबार) बिहान पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यसै गरी राति पनि देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शनिबार) बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिनसँगै मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भइसकेपछि हुने धेरै असर (जस्तैः हिलोबाटो, हिले भीरपाखा, अवरुद्ध यातायात र सञ्चार, पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न–बचाउन र आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 
 
  
 

You may also like