बुद्धको विद्रोह जस्तै प्रतिगमनविरुद्ध संघर्षमा उत्रिनु एक मात्र विकल्प : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरातनवादी विचार र चेतनाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जस्दै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिविरुद्ध संघर्षमा उत्रिनु आजको एक मात्र विकल्प रहेको बताएका छन् ।

आज (बुधबार) बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष गर्न आग्रह गरेका छन् । ‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सह–अस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहंकारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं । बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन ।’

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरातनवादी विचार र चेतनाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एकमात्र विकल्प रहेको छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु ।’

उनले बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्‍याएको योगदान नेपालीका लागि गौरवको कुरा भएको बताएका छन् । साथै बुद्धका उपदेश विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत रहेको उनको भनाइ छ ।

 
 
  
 

You may also like