मालीका प्रधानमन्त्री र राष्ट्रपति सेनाको नियन्त्रणमा, एकै वर्षमा दोस्रोपल्ट सैन्य कू !

काठमाडौं। पश्चिम अफ्रिकी देश मालीको सेनाले देशका प्रधानमन्त्री बाह एनडअ र राष्ट्रपतिलाई मोक्तार ओएनीलाई नियन्त्रणमा लिएको छ ।प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारमा त्यहाँका रक्षा मन्त्रीलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । सेनाले राष्ट्र प्रमुखहरूलाई नियन्त्रणमा लिएसँगै देशमा एकै वर्षमा दुई पटक ‘सैन्य कू’ भएको आशंका गरिएको छ ।

सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनापछि मालीमा रहेको संयुक्त राष्ट्रसंघको मिसनले सेनाको कदमको आलोचना गर्दै तुरुन्त नियन्त्रणमा रहेको नेताहरूलाई छाड्न अपिल गरेको थियो । घटनाको राष्ट्रसंघसहित अफ्रिकी संघ, इकोनोमिक कम्युनिटी अफ बेस्ट अफ्रिकन स्टेट्स, युरोपियन युनियन र अमेरिकाले निन्दा गर्दै नेताहरूलाई विनाशर्त छाड्न माग गरेका छन् ।

मालीको सरकारमा आएको फेरबदल भएको केही घण्टामै उनीहरूलाई नियन्त्रणमा लिइएकोे बीबीसीले जनाएको छ । अघिल्लोपटक ‘सैन्य कू’मा सामेल भएका दुई वरिष्ठ सैन्य कमाण्डरलाई सरकारबाट हटाएपछि सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।

त्यहा दुई महिना अघि पनि ‘सैन्य कू’ हुँदा राष्ट्रपति इब्राहिम बुबाकर काइतालाई हटाइएको थियो । यस्तो अवस्थामा देश पुनः अस्थिरतातर्फ अघि बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काइतालाई हटाउँदा मालीका जनता खुसी भए पनि नयाँ बनेको अन्तरिम सरकारमा सेनाको प्रभाव र नेताहरूले गरेको वाचा पूरा हुन भइरहेको ढिलाइले जनतामा गुनासो थियो ।

यसअघि भएको ‘सैन्य कू’ को फाइदा उठाउँदै इस्लामिक चरमपन्थीहरूले उत्तरी मालीको एक हिस्सामा कब्जा गरेका थिए । उक्त समयमा फ्रान्सको सेनाले जमिन फर्काउन मालीलाई सहयोग गरेको थियो । यद्यपि चरमपन्थीहरूको आक्रमण भने रोकिएको छैन । एजेन्सी

 

 
 
  
 

You may also like