सभामुख सापकोटाले बोलाए पूर्व सभामुखको वैठक : नेम्बाङ नजाने

काठमाडौ। प्रतिनिधिसभा विघटनपछिको पछिल्लो अवस्थाबारे सभामुख अग्नि सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्ने भएका छन् । दिउँसो १ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पूर्व सभामुखहरुसँग छलफल कार्यक्रम राखेको खबर आएको पूर्वसभामुख कृष्णबहादुर महराले जानकारी दिए । ‘दिउँसो १ बजे छलफल छ भनेर सभामुखबाट खबर आएको छ,’ महराले भने ।

अहिलेको समसामयिक अवस्थाबारे सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । सरकारले जेठ ८ गते राति प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारीस गरेको थियो । सो विघटन असंवैधानिक रहेको भन्दै सापकोटाले जेठ ८ गते विज्ञप्ती नै जारी गरेका थिए ।

सरकारले सिफारीस गरेको केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते गरेर दुई चरणको चुनाव घोषणा गरेकी थिइन् । जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका संसदमा रहेका १ सय ४९ सांसदले राष्ट्रपति कार्यालयमा हस्ताक्षरसहित निवेदन बुझाएका थिए ।

तर, सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको हस्ताक्षर सहित ओलीले १ सय ५३ जनाको समर्थन रहेको दाबी गरेका थिए । दुबै दाबीलाई राष्ट्रपति भण्डारीले खारेज गरेपछि देउवासहितका १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा पुगेर कागजातसहित हस्ताक्षर गरेर बुझाएका थिए । देउवाका पक्षमा बहुमत सांसद रहेको र उनले जेठ ७ गते गरेको दाबी सही सावित भएको भन्दै प्रधानमन्त्री नियुक्त गर्न माग गरिएपछि सभामुखले छलफल थालेका हुन् ।

सुवास नेम्वाङ सहभागी नजाने
पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ भने बैठकमा नजाने भएका छन् । उनले ढिला गरी खबर आएको र आफ्नो अर्कै कार्यसूची बनिसकेकाले आजको बैठकमा सहभागी नहुने बताए ।

‘बैठकबारे ढिला गरी सूचना आयो, मेरो अर्कै कार्यसूची बनिसकेकाले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको छु’, नेम्वाङले भने, ‘मैले अर्को दिन तपाईँसँग छुट्टै बसौंला भनेर सभामुखलाई भनेको छु ।’ सभामुख सापकोटा र नेम्वाङका बीच सुमधुर सम्बन्ध छैन । नेम्वाङलाई प्रधानमन्त्रीको कदममा मतियारको भूमिकामा काम गरेको आरोप लाग्दै आएको छ भने सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध सुमधुर हुन नसकेको विषय प्रधानमन्त्रीले भाषणमा नै बताउँदै आएका छन् ।

 
 
  
 

You may also like