कोरोनाबाट विदेशमा थप ४१ नेपालीको मृत्यु

काठमाडौं। कोरोनाबाट गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्तुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा संजीव सापकोटाका अनुसार सोमवार साँझ सम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

संघले डा संजिव सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ ।

 
 
  
 

You may also like