अहिलेकै दरमा संक्रमित बढे केहि दिनमै अस्पतालमा विरामी राख्ने ठाउँ हुँदैन : मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित बढिरहे केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो । कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेको मन्त्रालयले जनाएको छ ।

छिमेकी देशमा बढेको सङ्क्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै मन्त्रालयले त्यो हृदय विदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।
आज सीसीएमसीको बैठक बस्दै
कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आइतबार अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा निर्देशक समितिको बैठक बोलाइएको हो ।

सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बैठक बोलाइएको पुष्टि गरे । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

यसैबीच, आइतबार दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तत्काल देशव्यापी लडडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने बताएका छन् ।

 
 
  
 

You may also like