संसदमा इन्दुकुमारीको कविता : ओलीले सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदै छन्

काठमाडौं। प्रतिनिधिसभा वैठकमा सांसदहरुले बोलेर मात्र नभई कवितामार्फत पनि आफ्ना धारणाहरु राख्दै आएका छन् । यसअघि शान्ता चौधरी र महेश बस्नेतले संसदमा कविता सुनाइसकेका छन् । आज (सोमबार) सांसद् इन्दुकुमारी शर्मा शर्माले पनि कविता वाचन गरेर सरकारको आलोचना गरेकी छिन् ।

उनले कविता वाचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन गरेको गतिविधिलाई कविताका माध्यमबाट प्रस्तुत गर्दै यो कदम गलत भएको बताइन् ।

सांसद इन्दुकुमारी शर्माले संसदमा सुनाएको कविता :
बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो
संसद्मा कविता वाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो ।
जनताको भोटले दुई तिहाइको सरकार बनाए
सनकको भरमा संसद् विघटन गराएँ
मै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दै छन्
अझै पनि संसद् विघटन गर्ने दाउपेच बुन्दै छन्
संसद् विघटन ठीक हो भन्नेहरु लाभको पद कहिले पाइन्छ भन्दै दिन गन्नेहरू
सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइ दिएको छ
संविधान र कानुनका पानाहरू पल्टाइ दिएको छ
बुझेर पनि बुझ पचाएका छन्, जनतालाई सित्तैमा सताएका छन्
नैतिकताको खडेरी परेको छ, इमान धरम मरेको छ
सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदैछन्
झूटा आश्वासन दिइ फेरि मधेशीलाई फसाउँदै छन्
विश्वासको मत लिने ठाउँमा अझै नाटक गर्दैछन्
संसद्लाई बिजनेस नदिएर भ्रमको खेती छर्दैछन्
बालुवाटारमा ककटेल पार्टी गर्दै हामी कसरी नाच्न सक्छौं
सारा जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौं

 
 
  
 

You may also like