काठमाडौं । नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण र मृत्यु दर ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेको छ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३ हजार ३०६ रहेको स्वास्थ्य छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण भयावह हुन थालेपछि रोजगारीका सिलसिलामा रहेका नेपालीहरु धमाधम फर्किन थालेका छन् ।
सीमा नाकामा कोरोना चेकजाँच प्रभावकारी नहुँदा भारतबाट फर्किनेहरु सहजै गाउँसम्म पुगिरहेका छन् । जसका कारण गाउँ गाउँमा संक्रमित बढ्दै जाने जोखिम बढेको छ । पछिल्लो समय नेपालमा बालबालिकाहरुमा समेत कोरोना संक्रमण देखिन थालेको छ । विभिन्न अस्पतालहरुले संक्रमित बालबालिकाहरु उपचारका लागि आउने क्रम बढेको बताइरहेका छन् ।