भारतबाट फर्केका २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

कञ्चनपुर। सुदूर पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ ।

सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ जनाको नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारी अनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७ सय र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएको थियो । जसमा २२ जना को नतिजा पोजेटिभ आएको छ ।

यसैगरी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण हुँदै आएको छ ।

दैनिक सीमा नाका भएर नेपाल भित्रिने यात्रुको संख्या ७ सय देखि एक हजारको हाराहारीमा छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको संख्या समेत बढ्दै गएको छ ।

शुक्रबार मात्रै सीमा नाका त्रिनगरबाट ३०५ नेपाली र १२५ भारतीय भारततर्फ गएका छन् । सीमा नाका गड्डाचौकी भएर ३०० भारतीय र एक सय ५० जना नेपाली पनि भारततर्फ लागेका छन् । रासस

 
 
  
 

You may also like