म्यानमारमा सेनाको गोली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गयो

काठमाडौं। म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् ।

फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । त्यस्तै हिंसात्मक विरोधका क्रममा ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको ‘सेभ द चिल्ड्रेन’ ले जनाएको छ ।

‘सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको ’सेभ द चिल्ड्रेन’ को भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ ।

१३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘सेभ द चिल्ड्रेन’ ले जनाएको छ । पछिल्लो घटनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शनहरु भइरहेका छन् । एजेन्सी

 
 
  
 

You may also like