आफूमाथि वर्षिने प्रश्न छल्न प्रधानमन्त्रीले संसदको अपमान गरे : गगन थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफूमाथि वर्षिने प्रश्न छल्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको बताएका छन् ।

आज (मंगलबार) संघीय प्रतिनिधिसभाको बैैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता थापाले प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर गलत हल्ला चलाएको बताए । उनले भने, ‘जति दिन यो सरकार रहन्छ, प्रधानमन्त्रीलाई यो संसदप्रति तिरष्कार छ ।’

आफ्नो अपमानको बदला जनताले लिने पनि उनले बताए । ‘कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने’, संसदमा थापाले भने, ‘अनि अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने ?’

सांसद् थापाले यो विधेयक अधिवेशन भएकाले आफूहरु काम गर्न तयार रहेको स्पष्ट पारेका छन् । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा प्रश्न गरेका छन् ।

उनले विधेयकलाई काम गर्न चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाएकोमा रोष पोखे । ‘हामी स्पष्ट छौं, जति दिन यो सरकार रहन्छ, संसदको तिरष्कार र अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जान्छ किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ’, सांसद थापाले भने ।

आ–आफ्नो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्ने बताउँदै उनले बाँकी काम जनताको भएको बताए । ‘यथोचित समयमा जनताले यसको हिसाब किताब गर्नेछन्’, उनले थपे, ‘किनकी यो संसद् र सांसदको अपमान हो ।’ यो लोगो लगाउने सांसदहरुको मात्र तिरष्कार र अपमान नभई संसद बनाउने जनताकै अपमान भएको बताए ।

 

 
 
  
 

You may also like