म्यानमार घटनाको बिरोधमा बुटवलमा प्रदर्शन

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले म्यानमारमा भइरहेको सैनिक शासन र हत्याको बिरोधमा बुटवलको राजमार्ग चौराहामा प्रदर्शन गरेको छ । प्रदर्शनलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बर्मामा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी रहेको बताएका छन् ।

उनले सैन्य कु मान्य नहुने भन्दै नागरिक हत्यामा भैरहेको दमन तत्काल बन्द गर्न माग गरे । उनले राजनैतिक बन्दीको तत्काल रिहाइको माग समेत गरे । सभापति खनालले म्यानमारका प्रधानमन्त्री आङ साङ सूचीको रिहाइको माग समेत गरे ।

सो अबसरमा बोल्दै समाजका केन्द्रिय सदस्य बिष्णु भुसालले बर्माको दमनकारी नीति अन्त्य गरेर लोकतन्त्रको पुर्नबहालीको बिकल्प नभएको बताए । म्यानमारमा भइरहेको सैनिक शासन र हत्याको बिरोधमा बुटवलको राजमार्ग चौराहामा बिहान १० बजेदेखि ११ बजेसम्म बिरोध प्रदर्शन गरिएको समाजका रुपन्देही शाखा सभापति डीपी खनालले बताए ।

उपसभापति कृष्ण भट्टराइको स्वागत तथा जिल्ला सचिब कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो । म्यानमारमा नागरिकमाथि सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको छ ।

म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एवं राजनीतिक बन्दीहरूको विना सर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले आज देशैभर कार्यक्रम गरेको थियो ।

 
 
  
 

You may also like