ओलीले नेपाललाई कम्बोडिया बनाउन खोज्दै छन् : गगन थापा

बागलुङ। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई कम्बोडिया जस्तो निरंकुश र एकलौटी राज्यसत्ता बनाउने दुष्प्रयासमा अगाडि बढिरहेको बताएका छन् ।

नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं प्रतिनिधिसभा कार्यक्रम उद्घाटन गर्दै नेता थापाले प्रधानमन्त्रीले नेपाललाई ओलीकरणको बाटोमा हिंडाएको आरोप लगाए । प्रहरी, प्रशासन, अदालत, मानवअधिकार, संवैधानिक निकाय र प्रेसलाई समेत धम्क्याएर सत्ताकब्जा गर्ने ओलीको रणनीतिले देशलाई दुर्घटनामा लैजाने खतरा भएको उनले बताए ।

‘ओलीले सबै संयन्त्र कब्जा गरेर सिंगो प्रजातन्त्र निल्दैछन्’ नेता थापाले भने, ‘कम्बोडियामा कांग्रेस थिएन, नेपालमा कांग्रेस छ, हामी त्यस्तो हुन दिँदैनौं ।’ सबै दल, प्रेस, मानवअधिकार, अदालत, संवैधानिक निकाय र प्रशासन कठपुतली बनाएर सत्ता कब्जा गर्ने नियत ध्वस्त पार्ने समेत बताए ।

गत निर्वाचनमा दुई पार्टी एक बनाएर नेकपामार्फत सरकार चलाउँछौं, देशमा विकास र समृद्धि ल्याउँछौं भन्ने नेकपाको वैधानिकता समाप्त भएको उनले टिप्पणी गरे । ‘जुन पार्टी बनाउने भनेर मत मागियो, त्यही दल छैन, त्यही एजेण्डा छैन भने सरकार चलाइरहने नैतिक आधार पनि छैन’, थापाले भने, ‘जनताको मत र विश्वासमाथि यत्ति धेरै धोका दिएर पनि अझै माफी समेत माग्न नसक्ने कस्तो नेकपा हो ?’ हिजो गठजोडमा पहिलो शक्ति बन्द पनि उनीहरु नै महान्, अहिले क्षतविक्षत बनिसक्दा पनि उनै महान् भनेर जनताले मानिदिनुपर्ने बिडम्बना भइरहेको उनको भनाइ थियो ।

कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आएमा जान सकिने उनले संकेत गरे । ‘कांग्रेसले नेतृत्व गर्न पाएमा केपी सरकारले पारेका भ्वाङ टाल्छ’ थापाले भने, ‘आगामी निर्वाचनमा पहिलो शक्ति बनेर देशको समृद्धिका लागि काम गरेर देखाउँछ ।’ उनले रेल र पानी जहाज ल्याउने मात्र नभइ चाहिने जनशक्ति उत्पादन गर्ने विकास कांग्रेसले गर्ने दाबी गरे ।

‘शिक्षा क्षेत्रका विकृति हटाउने, दक्ष जनशक्ति उत्पादनका लागि कार्यक्रम बनाउने पहिलो एजेन्डा कांग्रेसको हुनेछ’ उनले भने, ‘अब रेमिट्यान्सले धानेको देश हैन, आफ्नै सबल अर्थतन्त्रले कमाएको बनाउने एजेन्डा कांग्रेससँग छ ।’

 
 
  
 

You may also like