संसदको अंक गणितमा निर्णायक ‘जसपा’ का शीर्ष नेता छलफलमा

काठमाडौं। संसदको अंक गणितमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता छलफलमा जुटेका छन् । नयाँ सत्ता समीकरणलाई लिएर मंगलबार र बुधबार अन्य राजनीतिक दलहरुसँग छलफल तीब्र बनाएका जसपाका शीर्ष नेताहरु आज (बिहीबार) आन्तरिक छलफलमा जुटेका हुन् ।

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा सो पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुर, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतोबीच छलफल शुरु भएको हो । छलफलमा केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरीलगायत १५–२० जना नेता सहभागी रहेको बताइएको छ ।

जसपामा सत्ता समीकरणबारे विवाद छ । यादव र भट्टराई वर्तमान सरकारको बहिर्गमनको पक्षमा छन् भने ठाकुर र महतो अहिलेकै सरकारलाई निरन्तरता दिने गरी पनि छलफल गर्न सकिने अडानमा रहेको चर्चा भइरहेको छ । संसद्को अंकगणितमा निर्णायक देखिएको जसपाभित्रको विवाद र शीर्ष नेताहरुको छलफललाई चासोका साथ हेरिएको छ ।

मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । जसपाका अध्यक्ष ठाकुर र महतोले सत्ता समीकरणका विषयमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केहि चरणका भेटवार्ता गरिसकेका छन् ।

सत्ता समीकरणका बेला तानातानको अवस्थामा रहेका जसपाका नेताहरु विभाजन हुनसक्ने आशंका समेत भइरहेका बेला शीर्ष नेताको बैठक बसेर पार्टीको नीतिमा एकरुपता कायम गर्न खोजिएको एक नेताले बताए । जसपामा प्रधानमन्त्री ओलीलाई साथ दिएर जाने कि ओलीविरुद्ध आन्दोलन गरेका दलहरुसँग मिल्ने भन्नेमा दुई धार छ ।

 

 
 
  
 

You may also like