ओली ‘निरो’ जस्तै बने : अध्यक्ष नेपाल

by समतल अनलाइन

धनकुटा। प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोमका सम्राट निरोसँग तुलना गर्दै आलोचना गरेका छन् ।

आज (शनिबार) धनकुटामा आयोजित पार्टीको विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले रोम शहर जलिरहँदा सम्राट निरोले बासुरी बजाएर बसे जस्तै नेपाल रोइरहेका बेला प्रधानमन्त्री ओली पनि बाँसुरी बजाएर बसिरहेको बताएका छन् ।

‘रोमको सम्राट निरो सिंगो राजधानी जलिरहेको छ, मान्छेहरु पुर्पुरोमा हात राखिरहेका छन्, उसलाई त मतलब नै छैन । आनन्दले उपरखुट्टी लगाएर बाँसुरी बजाएर बसिरहेथे’, निरोका प्रसङ्ग जोड्दै अध्यक्ष नेपालले भने, ‘आज केपी ओली सिंगो देश रोइरहँदा, पार्टीहरुदेखि नागरिक अगुवासम्म सडकमा हुँदा बाँसुरी बजाएर बसेका छन् ।’

प्रधानमन्त्री ओलीले तीन वर्षमा पनि एउटा सिन्को भाँच्न नसकेको तर, अहिले आफूले काम गर्न दिएनन् भन्दै भ्रम फैलाउँदै हिंडिरहेको बताए । ‘आफूले काम नगर्ने, पार्टीले काम गर्न दिएन भनेर गीत गाउँदै हिंडिरहेका छन’, उनले भने, ‘पार्टीले त नराम्रो काम नगर्नु राम्रा काम गर्नु भनेको हो । भ्रष्टाचार नगर्नु, भ्रष्टाचारीलाई दण्डित गर्नु, बलात्कृतलाई कडा भन्दा कडा कारबाही गर्नु पो भनेको हो ।’

उनले ओलीको प्रतिगामी कदमविरुद्ध सिंगो देश एकतर्फ हुँदा ओलीका भजनमण्डली भने ‘केपी बा’ भन्दै रमाइरहेको बताएका छन् उनले ओलीलाई देश, समाज, गरीब, मजदुर किसान, वेरोजगार युवा, लोकतन्त्र केहिको चिन्ता नभएको बताउँदै आफ्नै स्वार्थमा रमाइरहेको बताए । अध्यक्ष नेपाल काठमाडौंसहित देशका ठूला शहरको जनसभापति पूर्वका तीन जिल्लामा आयोजना हुने जनसभामा सहभागी हुन् पूर्व गएका हुन् । धनकुट्टापछि तेह«थुम र सुनसरीमा जनसभा हुँदैछ ।

 

 
 
  
 

You may also like