पश्चिमी वायुको प्रभाव : तीन दिन मौसम बदली हुने, तराईका धेरै स्थानमा हुस्सु

by समतल अनलाइन

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण नेपालमा अबका तीन दिन मौसम बदली हुने मौसमविदले बताएका छन् ।पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली आए कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद प्रतिभा मानन्धरले बताएकी छिन् । आज (बुधबार) काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने जनाइएको छ ।

दिउँसो मौसम सफा रहे पनि अपराह्न्न पछि बादल लाग्ने छ । काठमाडौंमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने उनको भनाइ छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश–१ मा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ । आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–१ मा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । पानी नपरे पनि बादल लाग्दा चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम मौसमविद्को आग्रह छ ।

 
 
  
 

You may also like