नेकपा (प्रचण्ड–नेपाल) समूहको रुपन्देही अध्यक्षमा राजु गुरुङ

by समतल अनलाइन

बुटवल।नेकपा (प्रचण्ड-नेपाल) समुहको रुपन्देही अध्यक्षमा राजु गुरुङ चयन भएका छन् । उनी तत्कालीन राष्ट्रिय युवा संघको केन्द्रीय उपाध्यक्ष हुन् । बुटवल वहुमुखी क्याम्पसको पूर्व स्ववियू सभापति गुरुङ युवा पंक्तिमाझ निकै लोकप्रिय नेता मानिन्छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि रुपन्देही अध्यक्षमा एमालेका शिवराज सुवेदी चयन भएका थिए । बुटवल उपमहानगरका मेयरसमेत रहेका सुवेदी ओली पक्षमा लागेपछि नेकपा प्रचण्ड नेपाल समूहको चार सदस्यीय केन्द्रीय सचिवालयले तत्कालीन एमालेकै गुरुङलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहको रुपन्देहीका सचिव निर्मल जिसीले गुरुङलाई केन्द्रीय सचिवालयले अध्यक्षमा सिफारिस गरेको जानकारी आएको र सर्कुलर आउन बाँकी रहेको बताए ।

उनले केहिदिन अघि बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा नेकपा ओली पक्षका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको विरुद्धमा उम्मेदवारी घोषणा गरेका थिए ।

त्यस्तै नेकपा (प्रचण्ड-नेपाल) समुहको कपिलबस्तु अध्यक्षमा बिष्णु पन्थी र गुल्मी अध्यक्षमा साेमनाथ सापकाेटा सिफारिस भएका छन् ।

 
 
  
 

You may also like