ओलीको अधिनायकवादी कदमका कारण आमहड्ताल गर्न बाध्य भयौं : अध्यक्ष नेपाल

by समतल अनलाइन
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को अधिनायकवादी कदमका कारण आफूहरु आन्दोलनमा उत्रिन वाध्य हुनुपरेको बताएका छन् ।

ओलीले संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताले ठूलो बलिदानीका साथ प्राप्त गरेको उपलब्धीहरुमाथि लगातार प्रहार गरेका कारण संविधान रक्षाका लागि पनि आमहड्ताल जस्तो कठोर आन्दोलनमा उत्रिन आफूहरु वाध्य भएको बताए ।

अध्यक्ष नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबरजस्ती शपथ गराइएको बताएका छन् । आमहड्ताल सफल पार्न बिहीबार सडकमा निस्किएका नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताएका छन् ।

‘अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओली संविधान मिच्दै मिच्दै अघि बढ्नु भएको छ । एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको छ’, उनले भने । नेपालले संवैधानिक आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे । ओली सुध्रिने व्यक्ति नरहेको बताउँदै उनमा गणतन्त्र, संघीयता, समावेशितामा अपनत्व बोधको भावना नरहेको नेपालको भनाइ थियो ।

‘संवैधानिक परिषद्ले गरेको नियुक्ति प्रक्रिया नै गलत छ । सभामुखले प्रक्रिया पुगेको छैन भनेर फिर्ता पठाई दिनुभयो । नियुक्तिको वैधता पुगेको छैन । जबरजस्ती शपथ गरियो । कामचलाउ सरकारले एकातिर चुनावको घोषणा गरेको भन्छ, अर्कोतिर भूमि आयोगमा धमाधम नियुक्ति गर्छ । उनको अधिनायकवादको विरुद्धमा जनतालाई हामीले विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेका हौं । जनतालाई कष्ट पक्कै पनि भएको छ ।’ उनले थपे, ‘ओलीले संविधान कुल्चिएकाले नागरिकलाई सचेत गराउन आमहड्ताल गर्न वाध्य बन्यौं ।’

You may also like