सभाका लागि ओली समूहले किन रोज्यो नारायणहिटी दरबार अघिको सडक ?

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सभा भृकुटीमण्डपबाट नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा सारिएको हो ।

प्रधानमन्त्री ओलीको सभामा जान हिन्दुवादी र राजावादीहरूले उर्दी जारी गरेको चर्चा चलिरहेको बेला नारायणहिटी दरबार अगाडि सभा राखिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । गत १२ माघ गते पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका थिए ।

देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना भन्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका थिए । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलोपटक भएको हो । प्रधानमन्त्री ओलीले एक लाख २५ हजार दीप पनि प्रज्ज्वलन गरेका थिए ।

बागमति प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीका अनुसार सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको छ । ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातिरको सडक रोजिएको उनको भनाई छ ।

सभामा काठमाडौँका साथै बागमती प्रदेशका १३ वटै जिल्ला र प्रदेश २ का कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी छ ।

के हिन्दु राष्ट्र घोषणा हुन्छ !

आइतबार नेकपा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले ओली समूहले माघ २३ गते काठमाडौंमा आयोजना गर्न लागेको सभामा उपस्थिति हुन पूर्वराजावादी नेताहरुले उर्दी जारी गरेको दाबी गरेका थिए ।

ओलीले यही २३ गतेको सभामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको चर्चा रहेको पाण्डेको भनाई थियो । उनले भने, ‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन् ।’

शनिबार प्रधानमन्त्री ओलीले चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेका थिए । राजावादी र हिन्दु राष्ट्र पक्षधरको उत्साहपूर्ण सहभागी हुने अनुमान गरिएको यो सभामा उनीहरुको सहभागिता बढाउने यो स्थान रोजिएको स्रोतको दाबी छ ।

सभाको लागि काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ। यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय संगठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ।

राष्ट्रिय युवा संग, अनेरास्ववियु र नेपाल खेलकूद महासंघले स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ।

 
 
  
 

You may also like