विकास र समृद्धि अर्को वर्ष थप उचाइमा पुग्छ : प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को अवसरमा आज (शुक्रबार) शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको नजिक पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

‘आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं ।’

प्रधानमन्त्रीले राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पुर्‍याउने सरकारको अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा समेत गरेका छन् । बिदा भएको सन् २०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु परेको स्मरण गर्दै उनले जसले स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍याएको बताएका छन् ।

‘हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु’, प्रधानमन्त्रीको आह्वान छ ।

 
 
  
 

You may also like