नेकपाले २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आज (बुधबार) केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु बुझाएको हो ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरू ३ जना उपत्यका बाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।

आज बुधबार निर्वाचन आयोगमा पेस गरेको विवरणमा २८७ जना सशरीर उपस्थित भई हस्ताक्षर गरेको र तीन जना उपस्थित हुन सम्भव नभई समर्थनका लागि पठाएको चिठी समावेश गरिएको छ ।

‘२९० जनाको हस्ताक्षर आज आयोगमा बुझायौं, तीन जना उपस्थित हुन सम्भव नभएर उहाँहरुको चिठी नै आयोगमा बुझाएका छौं,’ नेकपाका नेता राजेन्द्र भने । बुधबार बसेको प्रचण्ड–माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।

यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षको निवेदनको जाँचबुझ गर्ने र छानबिन गरेर निर्णय दिने बताए ।

‘दुवै पक्षबाट आएको निवेदनको जाँचबुझ गर्ने, छानबिन गर्ने, दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलहरुसम्बन्धी व्यवस्था अनुसार छ कि छैन भनेर आयोगले हेर्छ’ उनले भने ।

आयोगले यस विषयमा निर्णय दिन ढिला नगर्ने पनि श्रेष्ठले बताए । ‘तत्कालै अगाडि नबढाए निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको काम नै अवरुद्ध हुन सक्छ । त्यसैले यो छिट्टै टुङ्गिन्छ ।’

 
 
  
 

You may also like